गोरखा । शिक्षा मानव तथा स्रोत विकास केन्द्रले गोरखाका पाँच विद्यालयलाई नमूना विद्यालय घोषणा गरी करोडौँ अनुदान उपलब्ध गराए पनि शैक्षिक गुणस्तरमा सुधार देखिएको छैन।
दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुर, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेल नमूना विद्यालय घोषित भई करोडौँ अनुदान प्राप्त गरे पनि विगत पाँच वर्षको शैक्षिक प्रगति सन्तोषजनक छैन।
गोरखा नगरपालिकास्थित महेन्द्र माविका प्राचार्य गोपालबाबु मरहट्टाका अनुसार नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्रारम्भमा रु ५० लाख अनुदान प्राप्त भए पनि अहिले रु १० लाख मात्र आएको छ। प्राप्त बजेटबाट विद्यालय भवन, छात्रावास, शौचालय तथा कम्प्युटर लगायत भौतिक संरचना निर्माण गरिए पनि शैक्षिक नतिजा कमजोर देखिएको छ। विद्यालयले २०७४ सालमा एसइईमा औसत २ दशमलव ४० जिपिए ल्याएकोमा २०८० मा झरेर १ दशमलव ७२ पुगेको छ।
त्यस्तै, भीमसेन थापा गाउँपालिकाको दुल्लभ माविमा नमूना विद्यालय कार्यक्रमअन्तर्गत तीन सय २४ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले वार्षिक रु एक करोड भौतिक पूर्वाधारमा र रु ५० लाख व्यवस्थापनमा खर्च गरेको छ। सो विद्यालयको गत वर्षको एसइई नतिजा ७५ दशमलव ८६ प्रतिशत छ।
बारपाक सुलिकोटको सूर्यज्योति मावि ताकुकोटले कार्यक्रमअन्तर्गत सुरुका पाँच वर्ष डेढ–डेढ करोड र पछिल्लो वर्ष रु ३० लाख अनुदान प्राप्त गरेको छ। विद्यालयले चार करोड बजेट भवन निर्माणमा खर्च गरे पनि एसइई नतिजा कमजोर देखिएको छ। २०७५ मा २ दशमलव २५ जिपिए प्राप्त गरेको विद्यालयले २०७९ मा २ दशमलव ६५ ल्याएको थियो, तर २०८० मा मात्र ० दशमलव ५६ जिपिएमा झरेको छ।
परोपकार आदर्श मावि जौवारीमा ३६५ विद्यार्थी अध्ययनरत छन्। विद्यालयको २०८० को एसइई नतिजा ६४ दशमलव २८ प्रतिशत छ भने २०७५ देखि २०७९ सम्म औसत २ दशमलव ५५ जिपिएकै हाराहारीमा देखिएको छ।
जिल्लाको पछिल्लो नमूना विद्यालय अमरज्योति जनता मावि, पालुङटार नगरपालिकामा हाल ६३० विद्यार्थी अध्ययनरत छन्। गत वर्षको एसइई परीक्षामा नौ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्। यसअघि ग्रेडिङ प्रणालीका कारण फेल हुने विद्यार्थी थिएनन्।
नमूना विद्यालय घोषणासँगै भौतिक पूर्वाधार विकास भए पनि अपेक्षित शैक्षिक सुधार हुन नसकेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्।