
काठमाण्डाै – चालू आर्थिक वर्षको शुरूदेखि नै देशमा दुई तिहाइ बहुमत नजिकको शक्तिशाली सरकार रहे पनि बजेट खर्च भने कमजोर देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली गएको असार ३० गते प्रधानमन्त्री बन्नुभएको हो । एमालेकै विष्णु पौडेल अर्थमन्त्री भएर आर्थिक वर्षको शुरूदेखि नै नेतृत्व गर्न पाए पनि बजेट कार्यान्वयन कमजोर बनेको छ ।
सरकारी आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुनसम्म सरकारले कुल बजेटको ४५ दशमलव १२ प्रतिशतमात्रै खर्च गरेकाे छ । अझ डरलाग्दो कुरा विकास खर्च त २३ दशमलव ३७ प्रतिशतमात्रै भएको छ ।
यति न्यून बजेट खर्च हुनुको पछाडि सरकार नै दोषी रहेको निर्माण व्यवसायी बताउँछन् । विकास बजेट खर्च नहुनुमा सरकारी नीति, देशमा व्यापक भ्रष्टाचारको दोष रहेको निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बताउनुभयो । उहाँका अनुसार सरकारले आयोजनाहरूको टेन्डर गर्दा अत्यन्तै न्यून बजेट राखेर गर्ने गरेको छ । धेरै योजनाहरूको काम सकिएर पनि भुक्तानी हुन सकेको छैन । सरकारले भुक्तानी नदिएका कारण थप काम गर्न रोकिएको छ ।
निर्माण कार्य तीव्र रूपमा हुने अहिलेकै सिजनमा सीमित उद्योगीहरूले सिमेन्टलगायत डन्डी, ग्याचिन वायरका निर्माण सामग्रीमा थप मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत नियोजित तरिकाले कटौती गरेको अध्यक्ष सिंहको भनाइ छ ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारी सबै बजेट खर्च नहुनुको कारक अर्थ मन्त्रालय नभई विषयगत मन्त्रालयहरु बढी जिम्मेवार रहेका बताउनुहुन्छ ।