सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत

241 Shares

काठमाण्डौ – सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। आन्तरिक राजस्व सङ्कलन अपेक्षाकृत कम भए पनि सरकारका खातामा करिब साढे तीन खर्ब रुपैयाँ मौज्दात रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सात महिनामा सरकारले कुल सात खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ। जसमध्ये, चालु खर्च पाँच खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ, पुँजीगत खर्च ६८ अर्ब ४२ करोड रुपैयाँ, र वित्तीय व्यवस्था खर्च एक खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।

तर, यही अवधिमा सरकारले जम्मा छ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ मात्र राजस्व उठाएको छ। यसमध्ये कर राजस्व पाँच खर्ब ६५ अर्ब ६४ करोड रुपैयाँ र गैर-कर राजस्व ७७ अर्ब २१ करोड रुपैयाँ रहेको छ।

राजस्वभन्दा खर्च बढी भए पनि सरकारका विभिन्न खातामा कुल तीन खर्ब ५० अर्ब सात करोड रुपैयाँ नगद मौज्दात रहेको छ। यो रकम नेपाल राष्ट्र बैंकमा रहेका संघ, प्रदेश, र स्थानीय तहका खातामा रहेको हो।

मुद्रास्फीति नियन्त्रणमै, खाद्य वस्तुको मूल्यवृद्धि उच्च

माघ मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत पुगेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ।

खाद्य तथा पेय पदार्थ समूहमा सबैभन्दा धेरै घिउ तथा तेलको मूल्य १२.८० प्रतिशतले बढेको छ। त्यस्तै, दाल तथा गेडागुडी ९.६ प्रतिशत, तरकारी ७.५६ प्रतिशत, र खाद्य तथा खाद्यजन्य पदार्थ ६.३६ प्रतिशतले महँगिएका छन्।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा उच्च ६.१५ प्रतिशत मुद्रास्फीति देखिएको छ भने मधेश प्रदेशमा ३.९१ प्रतिशत, बागमतीमा ३.३५ प्रतिशत, गण्डकीमा ३.४० प्रतिशत, लुम्बिनीमा ४.१६ प्रतिशत, कर्णालीमा ४.०५ प्रतिशत, र सुदूरपश्चिममा ४.७१ प्रतिशत मुद्रास्फीति रहेको छ।

भौगोलिक रूपमा काठमाण्डौ उपत्यकामा ३.५३ प्रतिशत, तराईमा ४.२५ प्रतिशत, पहाडी क्षेत्रमा ४.११ प्रतिशत, र हिमाली क्षेत्रमा ५.२१ प्रतिशत मुद्रास्फीति देखिएको छ।

सम्बन्धित समाचार

सबै