बाह्य क्षेत्र सबल : सात महिनामा रेमिट्यान्स वृद्धि, विदेशी मुद्रा सञ्चिती उच्च

108 Shares

काठमाण्डौ – चालु आर्थिक वर्षको सात महिनामा नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार रेमिट्यान्स प्रवाह बढ्नुका साथै विदेशी मुद्रा सञ्चिती उच्च बिन्दुमा पुगेको छ।

पछिल्लो सात महिनामा नौ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.३ प्रतिशतले वृद्धि भई नौ खर्ब ५८ करोड रुपैयाँ पुगेको हो। सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ७४ हजार ६२२ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९० हजार ८८६ रहेको छ।

चालु खाता बचतमा रहँदा चालु आर्थिक वर्षको सात महिनामा एक खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ बचत भएको छ। अघिल्लो वर्ष सोही अवधिमा एक खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँको बचत थियो।

प्रत्यक्ष वैदेशिक लगानीका रूपमा सात अर्ब ४५ करोड रुपैयाँ भित्रिएको छ। त्यस्तै, शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ थियो।

असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिती पछिल्लो सात महिनामा १६.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीसँग रहेको विदेशी विनिमय सञ्चितीले १७.२ महिनासम्मको वस्तु आयात र १४.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ।

सम्बन्धित समाचार

सबै