सरकारको खर्च आम्दानीभन्दा बढी, खातामा रु ३.५ खर्ब मौज्दात

181 Shares

काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा सरकारको खर्च आम्दानीभन्दा बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सरकारले माघ मसान्तसम्म रु ७ खर्ब ५४ अर्ब ८५ करोड खर्च गरेको छ, जबकि सोही अवधिमा कुल राजस्व रु ६ खर्ब ४२ अर्ब ८५ करोड मात्र संकलन भएको छ।

सरकारी खर्चमध्ये चालु खर्च रु ५ खर्ब २२ अर्ब ६३ करोड, पुँजीगत खर्च रु ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च रु १ खर्ब ६३ अर्ब ८१ करोड रहेको छ। राजस्वतर्फ कर राजस्व रु ५ खर्ब ६५ अर्ब ६४ करोड र गैर-कर राजस्व रु ७७ अर्ब २१ करोड संकलन भएको छ।

आन्तरिक राजस्व संकलनभन्दा खर्च बढी भए पनि सरकारका विभिन्न खातामा रु ३ खर्ब ५० अर्ब ७ करोड नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ। गत असार मसान्तसम्म यो मौज्दात रु ८३ अर्ब ९९ करोड मात्र थियो।

प्रदेश सरकारहरूको सात महिनाको कुल खर्च रु ५१ अर्ब ९० करोड रहेको छ भने स्रोत परिचालन रु १ खर्ब १ अर्ब ८९ करोड पुगेको छ।

बैंकका अनुसार पछिल्लो सात महिनामा विस्तृत मुद्राप्रदाय ४ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा भने यो वृद्धि दर १०.१ प्रतिशत पुगेको छ।

सम्बन्धित समाचार

सबै