जग्गा खरिदमा बदमासी आरोप: व्यास नगरपालिकाका चार कर्मचारी निलम्बित

279 Shares

काठमाण्डौ – तनहुँको व्यास नगरपालिकाले सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्ने क्रममा अनियमितता गरेको आरोपमा चार जना कर्मचारीलाई निलम्बन गरेको छ।

नगरपालिकाकै कर्मचारीले बदमासी गरेको अडियो सार्वजनिक भएपछि हिजो बसेको कार्यपालिका बैठकले वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत तथा सूचना अधिकारी कुमारकञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र गाडी चालक कुशेश्वर गुरुङलाई निलम्बन गर्ने निर्णय गरेको हो।

मेयर वैकुण्ठ न्यौपानेले छानबिन प्रक्रिया अवधिभर उनीहरूलाई निलम्बन गरिएको जानकारी दिनुभयो। वरिष्ठ लेखा परीक्षण अधिकृत जिसीले ५० लाख रुपैयाँ घुस नपाएसम्म काम पूरा नगर्ने बताएको अडियो सार्वजनिक भएपछि फागुन १७ गते सरसफाइ जग्गा व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी यो विषय बाहिर ल्याएको थियो।

नगरपालिकाले वडा नम्बर ३ मा जग्गा खरिद प्रक्रिया अघि बढाइरहेको छ। अडियोसहित उठेका विवादबारे आगामी चैत २ गते स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय भएको मेयर न्यौपानेले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

सबै