रौतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य रवीन्द्र पटेलले वर्षौँदेखि अलपत्र अवस्थामा रहेका पुलको तत्काल निर्माण कार्य सुचारु गराउन निर्माण कम्पनीलाई निर्देशन दिनु भएको छ । कुनै पनि बहाना पूल निर्माण कार्य रोक्नु स्वीकार्य नहुने बताउनु हुँदै उहाँले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द देखि कारबाही सम्मको प्रक्रियाको लागि पहल गर्ने बताएका छन् ।
बुधबार आफ्नो निर्वाचन क्षेत्रमा लामो समयदेखि अधुरो अवस्थामा रहेका दर्जनभन्दा बढी पुलहरूको स्थलगत निरीक्षण गर्दै सांसद पटेलले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, निर्माण व्यवसायी, प्राविधिक टोली र स्थानीय बासिन्दासँग संयुक्त रूपमा छलफल गरेका छन् । निरीक्षणपछि उनले भने , अब बहाना होइन, परिणाम चाहिन्छ ।
वर्षायाममा पुल नहुँदा खोला तर्नुपर्ने बाध्यता, दुर्घटनाको जोखिम र जनधनको क्षतिलाई गम्भीर विषयका रूपमा उठाउँदै उहाँले निर्माण कम्पनीहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
करोडौँका योजना अलपत्र छाडेर जनतालाई शास्ती दिने प्रवृत्ति अब मान्य नहुने उनले भने ।
अनुगमनको क्रममा कोठियार–ब्रह्मटोल, रंगपुरस्थित लमहा (गुजरा) खोला पुल २०७३ सालदेखि निर्माणाधीन भए पनि हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति भएको अबस्था छ । त्यस्तै पिपरिया स्थित तरही खोला पुलमा करिब ४५ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । २०८० असारमै सम्पन्न हुनु पर्ने हर्साहा चोक–चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत पर्ने नमाहा खोला पुलको भौतिक प्रगति हालसम्म ४५ प्रतिशतमै सीमित रहेको छ ।
निर्माण व्यवसायीहरूले अप्रत्यासित आर्थिक बोझ, बजेट अभाव तथा मूल्य वृद्धिलाई ढिलाइको मुख्य कारण बताउँदै आएका छन्। तर, सम्बन्धित निकायको प्रभावकारी अनुगमन नहुँदा र कमजोर समन्वयका कारण पूलहरु अलपत्र बनेको स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार पुल निर्माण नहुँदा वर्षायाममा खोला तर्दा ज्यान जोखिममा पर्ने, विद्यार्थी, बिरामी तथा दैनिक यात्रुहरू समेत प्रभावित हुने गरेको छ ।