रौतहट/रौतहटको गरुडा नगरपालिका –६ शिवनगरमा रहेको आदर्श आयल स्टोर्सका संचालकले सुरक्षाको प्रत्याभूति संगै दोषीलाई कारबाहीको लागि सम्बन्धित निकाय संग माग गरेका छन् । गएको माघ १५ गते स्थानिय केहि युवाको समुहले पेट्रोल पम्प संचालकहरुलाई कुटपिट गर्दा समेत प्रहरीले कारबाही गर्न नसकेको भन्दै कानुनि राज्यमा दोषी उम्कन नदिन स्थानिय प्रशासन सचेत हुनु पर्ने पम्प संचालक रामबाबु प्रसाद चौधरीले भन्नु भयो ।
उहाँका अनुसार गएको माघ १५ गते राती ९ बजेर २० मिनेटको समयमा स्थानिय केहि युवाहरुले पम्पमा रहेका रंजित कुमार चौधरी र रोहित कुमार चौधरीलाइ कुटपिट गरे पनि प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरि रहेको छ ।
इलाका प्रहरी कार्यालय शिवनगरबाट २० मिटरको दुरीमा रहेको पेट्रोल पम्पमा माघ १५ गते रातीको समयमा आएका स्थानिय युवाहरुको आक्रमणबाट रंजित चौधरी र रोहित कुमार चौधरी घाइते भएका थिए ।
दुवै जनाको स्थानिय बेटर नेपाल अस्पतालमा उपचार भएको थियो सामान्य उपचार पछि रोहित कुमार चौधरी घर फर्के पनि रंजित कुमार चौधरीको नाकको शल्यक्रिया गर्नु पर्ने भएकोले काठमाण्डौ रिफर गरिएको उहाँले बताउनु भयो ।
घटना सम्बन्धि सिसिटिभी फुटेज लगायत प्रत्यक्षदर्शी पम्पका कर्मचारी रहेता पनि प्रहरी मुकदर्शक बनेको उहाँको आरोप रहेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक शंकर आचार्यले घटनाको प्रकृति हेर्दा कत्र्यव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गर्ने नरहेकोले अभद्र व्यवहारको जाहेरी लिएर आउन पिडितलाई भनेको बताउनु भयो ।
दोषीलाई कारबाही गर्न प्रहरी सक्षम रहेको बताउनु हुँदै उहाँले यस घटनामा शुरुमा पेट्रोल पम्प बालाले नै हातपात गरेको देखिएको बताउनु भयो ।
फसाउनकै लागि नभएर न्यायको लागि मुद्दा दर्ता गर्न जरुरि रहेकोले यस घटनामा गम्भीर प्रकृतिको मुद्दा दर्ता गर्न मुनासिब नहुने उहाँले प्रतिक्रियो दिनु भयो ।