जेनजी आन्दोलनमा रौतहट कारागारबाट फरार दुई कैदी पक्राउ

24 Shares

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागार कार्यालय रौतहटबाट फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका–३,रौतहटका २४ वर्षीय अफताब अन्सारी र दुर्गाभगवती गाउँपालिका–५, वडहर्वा,रौतहटका २९ वर्षीय दिपेश साह सोनार रहेको छ । अन्सारीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ भने सोनारलाइ सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा गौर–३ पोखरिया टोलबाट चोरी मुद्दाका दोषी अन्सारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए । अन्सारीलाई नियन्त्रणमा लिई कारागार कार्यालय पठाइएको उनले बताए ।
त्यस्तै जबरजस्ती करणी मुद्दाका दोषी सोनारलाई इलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले ईश्वरपुर नगरपालिका–६, बयलबासबाट सोमबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए । सोनारलाई जिल्ला कारागार कार्यालय सर्लाहीको जिम्मा लगाइने उनले बताए ।
कारागार कार्यालय रौतहटबाट अझै १२२ जना कैदीबन्दी फरार रहेको कारागार कार्यालय रौतहटका प्रमुख प्रदिप पौडेलले जानकारी दिए ।

 

सम्बन्धित समाचार

सबै