रौतहटमा लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ

97 Shares

रौतहट /रौतहट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको  हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुंगका अनुसार आइतवार दिउँसो ३ ः३० बजेको समयमा गोप्य सुचनाको आधारमा चन्द्रपुर नगरपालिका वडा नं.४ मा प्रहरी टोलीले चन्द्रपुर वडा नं. १ बागमती बस्ने ३२ बर्षीय तुल बहादुर लामालाई खानतलासी गर्दा उनले लगाएको जिन्सको खल्तीमा ब्राउन सुगर सेवन गर्न प्रयोग गरिने रु. ५ को फोल्ड,ब्लेड आदी फेला परेकोले उनलाई पक्राउ गरिएको छ ।
लामासंग सोधपुछ गर्दा उनले दिएको जानकारी अनुसार चन्द्रपुर वडा नं.४ गणेश चोकमा रहेको दुर्गा बहादुर घलेको घरमा डेरा लिइ बस्ने उदयपुर गाईघाट घर बताउने २३ बर्षीय प्रिया तामाङ र चन्द्रपुर –४ का ३५ बर्षीय राज बलम पाख्रिन मगरलाइ समेत पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक लाबुंगले जानकारी दिए । प्रहरी नायव उपरीक्षक लाबुंगका अनुसार सो कोठाबाट ब्राउन सुगर जस्ता बस्तुहरूको तौल गरिने मसिन, ब्राउन सुगर राख्न प्रयोग हुने कालो प्लाष्टिकको टुक्राहरु बरामद भएको छ ।
पक्राउ परेकाहरु संग सोधपुछ तथा खोजतलाशको आधारमा चन्द्रपुर वडा नं.१ मा रहेको अमृत घिसिङको घरबाट चन्द्रपुर ४ का २९ बर्षीय प्रशान्त तामाङलाइ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक लाबुंगले बताए । तामाङ्ग बस्ने कोठाको कुनामा कालो प्लास्टिकको पुरियामा राखेको २ सय ४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र अन्य समानहरु बरामद गरीएको उनले भने ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले जनाएको छ ।

 

सम्बन्धित समाचार

सबै