रौतहट /रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं.०६ पेटभर्वा टोलका २८ बर्षीय आरति देवी यादव घर भित्र मृत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतवार दिनको ११ः५० बजेको समय सम्ममा फतुवा विजयपुर –.०६ पेटभर्वा टोलका महन्थ राय यादव र उनको श्रीमती आरति देवी यादव घर बाहिर ननिस्के पछि स्थानियलाई संका लागि इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियामा खबर गरेका थिए । खबर पाउना साथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी टोलि खटी स्थानिय तथा जनप्रतिनिधिहरुको रोहबरमा ढोका खोल्दा महन्थ राय यादवको श्रीमती आरती देवी यादवको मृत शरिर निजकै सुत्ने कोठामा काठको खाटमा उतानो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिए । उनका अनुसार आरती देवी यादवको घाँटीमा काटीएको, खाट नजिकै रगत जस्तो रातो पदार्थ लागेको तथा बन्चोरो समेत फेला परेको छ । मृतकको श्रीमान् महन्थ राय यादव फरार रहेको र खोजि कार्य जारि रहेको उनले बताए ।घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।