सिआईबीको असई हुँ भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ

92 Shares

रौतहट/आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) की असई भन्दै सर्वसाधारणलाई झुक्याई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुरका २५ बर्षीया नेहा, निशा, पुनम कुमारी भन्ने निर्मला महतो रहेकी छन् ।
महतोले विभिन्न व्यक्तिलाई आफू सिआईबीको असई भएको, भन्सार तथा प्रशासनमा राम्रो पहुँच भएको झुटो दाबी गरेर आपराधिक विश्वासघात र आपराधिक लाभ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुंगले जानकारी दिनु भयो ।
पीडित जाहेरवाला सर्लाही लालबन्दीका राजेश्वर साहसँग सस्तोमा भन्सारबाट स्कारपियो गाडी निकालिदिने प्रलोभन दिएर पटक–पटक गरेर १ लाख ५० हजार ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
आफू सिआईबीको असई हुँ भन्दै महिलाले चन्द्रपुरका सन्तोष बहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट २ लाख ७४ हजारको सुनचाँदी, गुजराका बिजय साह बनियाँबाट घरायसी समस्या देखाई पाँच लाख नगद, चन्द्रपुरका प्रविण साहको किराना पसलबाट उधारो सामान तथा स्कारपियो गाडी भाडामा लिएर १ लाख २६ हजार बराबरको रकम ठगी गरेको प्रहरी नायव उपरीक्षक लाबुंगले जानकारी दिनु भयो ।
भन्सारबाट गाडि निकाल्ने प्रयोजन देखाएर लालबन्दीका राजेश्वर साहको श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र फोटो लिएर महिलाले आफू पुनम कुमारी हो भनि इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर, रौतहटबाट राष्ट्रिय परिचय पत्र बनाएको र सोही पुनम कुमारीको सक्कल नागरिकता र फोटो समेतको आधारमा महिलाले आफू पुनम कुमारी हो भनि माछापुच्छ्रे बैंक लि.चन्द्रपुर शाखाबाट पुनम कुमारीको नाउँमा नं.०९११००१५५५००००१८ को खाता खोलेको अनुसन्धानबाट खुलेको छ ।
महिलाले आफ्नो पहिचान लुकाएर पुनम कुमारीको नाउँमा खोलेका बैंक खातामा पर्याप्त मौज्दात नभएको भन्दै चेक काटेर दिई समेत ठगी गरेको प्रहरीको भनाइ रहेको छ ।
गएको माघ ४ गते दिउँसो ४ बजेको समयमा चन्द्रपुर नगरपालिका–६ बाट महिलालाई पक्राउ गरिए पनि बास्तविक परिचय खुल्न २० दिन लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक लाबुंगले बताउनु भयो ।
पक्राउ परेका महिलालाई ठगी, आपराधिक बिश्वासघात र आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान भइ रहेको छ ।

सम्बन्धित समाचार

सबै