भक्तपुर । आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष–२०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीहरूले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। भ्रमण वर्षको तयारीका लागि बुधबार चाँगुनारायण नगरपालिकामा आयोजित छलफलमा व्यवसायीहरूले यस्तो घोषणा गरेका हुन्।
नगर प्रमुख जीवन खत्रीले होटल व्यवसायीहरूले भ्रमण वर्ष सुरु भएदेखि वर्षदिनभरि नै यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने बताएका छन्। उनीहरूले होटल र पर्यटन व्यवसायीलाई आगन्तुक पर्यटकको स्वागतमा लाग्न सामाजिक दायित्वका रूपमा आवश्यक लगानी गर्न आग्रह पनि गरे।
साथै, मण्डन देउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले भ्रमण वर्ष सफल बनाउन तयारी थालेका छन्। नगरकोटको पर्यटकीय क्षेत्रको विकास र भौतिक संरचना निर्माणका लागि चारवटै नगरपालिकाले लगानी गर्ने भएका छन्।
भ्रमण वर्षलाई लक्षित गरी नगरकोट कमलविनायक सडक खण्डको कालोपत्र गर्ने काम पनि नगरपालिकाले टेन्डर आह्वान गरिसकेको छ।
नगरकोट भ्रमण वर्षको सफलताका लागि होटल व्यवसायी र स्थानीयवासीलाई सहयोग गर्न अनुरोध गरिएको छ।