काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब ३६ दिन मात्र बाँकी छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ अनुसार सरकारले नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भएकाले अधिकारीको पदावधि औपचारिक रूपमा ६ दिनपछि समाप्त हुने देखिन्छ।
ऐनअनुसार, गभर्नरको पद रिक्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त गरी सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ। त्यसैले फागुन २५ गतेबाट गभर्नर अधिकारी बिदामा बस्नुपर्नेछ। २०७६ चैत २५ गते नियुक्त भएका अधिकारीको कार्यकाल यही चैत २५ गते समाप्त हुँदैछ।
गभर्नर नियुक्तिका लागि सोमबार मन्त्रिपरिषद्ले सिफारिस समिति गठन गर्ने तयारी गरेको छ। ऐनको दफा १५ अनुसार, अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नर वा आर्थिक तथा बैंकिङ क्षेत्रमा स्थापित व्यक्तित्वलाई राखी तीन सदस्यीय समिति बनाइनेछ।
गभर्नर पदका आकांक्षीहरू सक्रिय भएका छन्। हालका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिमिल्सिना र बमबहादुर मिश्र, पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्टसहित निजी क्षेत्रका व्यक्तित्वहरू यो दौडमा देखिएका छन्।
सरकारले गभर्नर नियुक्त गर्दा अर्थतन्त्रको वर्तमान चुनौती सामना गर्नसक्ने, मौद्रिक नीति बुझेका तथा बैंक तथा वित्तीय क्षेत्रसँग नजिक रहेका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ। कांग्रेस र एमालेले भागबण्डाका आधारमा नियुक्ति गर्ने तयारी गरिरहेको चर्चा चलेको छ।
बैंकिङ प्रणालीको स्थायित्व, वित्तीय क्षेत्रको सुदृढीकरण, अन्तर्राष्ट्रिय अर्थतन्त्रसँगको समन्वय र निजी क्षेत्रको विश्वास जित्न सक्ने व्यक्ति गभर्नर हुनुपर्ने अर्थशास्त्रीहरूको सुझाव छ। अबको गभर्नरले निष्पक्ष नीति अवलम्बन गर्दै आर्थिक सुधारको नेतृत्व गर्नुपर्ने अपेक्षा गरिएको छ।