
रौतहट — नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
शनिवार गौरमा सम्पन्न निर्माण व्यवसायी संघ, रौतहटको आठौँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिंहले आर्थिक ऐन तथा नियमावली व्यवसायी मैत्री नहुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आलोचना खेप्नुपरेको बताए।
उनले निर्माण व्यवसायीलाई पेसाबाट पलायन हुनबाट जोगाउन हालै भएको सिमेन्टको मूल्य वृद्धिलाई रोक्नुपर्ने, साथै खरिद कानुनमा आवश्यक संशोधन गर्नुपर्ने माग राख्दै सरकारसँग छलफल भइरहेको जानकारी गराए। साथै, व्यवसायीलाई ठेक्काको प्रतिस्पर्धामा सहभागी हुँदा सतर्क रहन सुझाव दिए।
निर्माण व्यवसायी मैत्री कानुनको अभावका कारण ठेकेदारहरू आपसमा प्रतिस्पर्धा गर्दै कमजोर बन्दै गएको अध्यक्ष सिंहले उल्लेख गरे।
संघका अध्यक्ष कृष्णदेव यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशसभा सांसद तथा संघका पूर्व अध्यक्ष नागेन्द्र साह, महासंघका महासचिव रोशन दाहाल, सहमहासचिव शिवहरी घिमिरे, सहकोषाध्यक्ष सन्तोष साह, उपेन्द्र चौधरी, विक्रान्त विक्रम नेपाललगायतले सार्वजनिक खरिद ऐनलाई महत्वपूर्ण एजेन्डाका रूपमा उठाउनुपर्नेमा जोड दिएका थिए।
मधेश प्रदेश अध्यक्ष मुना चौधरीले निर्माण व्यवसायी राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण भए पनि हाल उनीहरू आर्थिक संकट तथा अन्य समस्याका कारण मानसिक तनावमा रहेको बताइन्। उनले पालिका स्तरमै संघ निर्माण गर्नुपर्ने र व्यवसायीहरूप्रति समान व्यवहार हुनुपर्ने धारणा राखिन्।