काठमाडौं – सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीच भएको प्रत्यक्ष वार्ताले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकीसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने पाठ सिकाएको बताएका छन्।
फेसबुकमा लेख्दै महासचिव पोखरेलले छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली राष्ट्रहरूलाई समेत समस्या पर्ने भन्दै बाहिरी शक्तिबाट प्राप्त हुने सहयोग अस्थायी र स्वार्थप्रेरित हुने उल्लेख गरेका छन्।
उनका अनुसार रूस–युक्रेन युद्ध दुबै पक्षका लागि घातक बनेको छ, र युद्ध अन्त्य गर्न ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आएको छ। क्षेत्रीय शान्ति बिना विश्व शान्ति सम्भव नहुने भन्दै उनले एशियाली राष्ट्रहरूले आपसी सम्बन्धको विकासमा जोड दिए एशिया पुनः विश्व सभ्यताको केन्द्र बन्न सक्ने धारणा राखेका छन्।
महासचिव पोखरेलले अमेरिकाको पछिल्लो रणनीतिले एशियालाई भूराजनीतिक द्वन्द्वको केन्द्र बनाउने संकेत गरेको बताए। उनले गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको भूमि खोस्ने योजना र रूस–युक्रेन युद्ध अन्त्यका नाममा भइरहेको अमेरिकी प्रयास विश्व शान्तिको उद्देश्यभन्दा खनिज सम्पदामा केन्द्रित भएको दाबी गरेका छन्।
उनले आर्थिक स्वार्थ आधारित नीतिले नयाँ भूराजनीतिक द्वन्द्व निम्त्याउने चेतावनी दिँदै एशियाली राष्ट्रहरू विशेष रूपमा सचेत रहनुपर्ने बताएका छन्।