काठमाण्डौ – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ को अन्तिम खेलअन्तर्गत आज दक्षिण अफ्रिका र प्रतियोगिताबाट बाहिरिइसकेको इङ्गल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। खेल कराचीको नेशनल स्टेडियममा दिउँसो २:४५ बजे सुरू हुनेछ।
यो खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ। दक्षिण अफ्रिका २ खेलमा ३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ, जबकि इङ्गल्यान्ड २ वटै खेल गुमाउँदै अङ्कविहीन अवस्थामा छ। समूह ‘बी’ बाट अस्ट्रेलिया ३ खेलमा ४ अङ्कसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अफगानिस्तान भने ३ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ।
इङ्गल्यान्डले आजको खेलमा दक्षिण अफ्रिकालाई ठूलो अन्तरले पराजित गरे मात्र अफगानिस्तानलाई अन्तिम चारमा पुग्ने सम्भावना बाँकी रहन्छ। तर, दक्षिण अफ्रिका नेट रन रेटका आधारमा अफगानिस्तानभन्दा निकै अघि रहेको छ।
गएराति अफगानिस्तानसँगको खेल वर्षाका कारण रद्द भएसँगै १ अङ्क बाँडिँदा अस्ट्रेलिया सेमिफाइनलमा पुगेको हो।
समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत अन्तिम चारमा प्रवेश गरिसकेका छन्, भने आयोजक पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिएका छन्।