काठमाडौँ – सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शुक्रबार) अपराह्न ४ बजे बुढानीलकण्ठमा शीर्ष नेताको बैठक बोलाएका छन्। बैठकमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरु सहभागी हुनेछन्।
बैठकमा संसदमा पेश भएका विधेयकलाई छिटो प्रक्रियामा ल्याउने विषयमा छलफल हुनेछ। कांग्रेसले विधेयकलाई समयमै पारित गर्न सक्रियता लिने विषयमा पनि छलफल हुने प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकका अन्य एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन पनि रहेको छ। कांग्रेसले चैत महिनाभित्र अधिवेशन सम्पन्न गर्न भ्रातृ संस्थाहरुलाई निर्देशन दिएको छ।
त्यसैगरी, बैठकमा जारी भएका अध्यादेश पारित गराउने विषयमा पनि छलफल हुने जनाइएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन।
आजै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ, जसमा समसामयिक विषयहरूमा छलफल हुनेछ।