काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको आक्रमण अन्त्य गर्ने वार्ता धेरै अगाडि बढेको बताएका छन्। उनले ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग भेट पछि यस्तो बताएका हुन्।
ट्रम्पले भने, “हामी युक्रेनमा शान्ति स्थापनाका लागि धेरै चाँडै प्रगति गर्नेछौँ, या त यो बिल्कुलै सफल हुनेछ, या यस्तो कहिल्यै हुनेछैन।”
बेलायती प्रधानमन्त्री स्टारमरले युक्रेनमा दिगो शान्तिको लागि अमेरिकी नेतृत्व आवश्यक रहेको बताएका थिए। उनले भने, “युद्ध समाप्त गर्नको लागि हामी ट्रम्पको प्रतिबद्धता स्वागत गर्दछौँ, जसले आक्रमणकारीलाई पुरस्कार नगरी शान्ति स्थापना गर्न प्राथमिकता दिइरहेका छन्।”
स्टारमरले युक्रेनको सहायता गर्न बेलायत पूर्ण रूपले संलग्न रहेको जानकारी दिएका छन् र युक्रेनलाई थप सैन्य सहयोग दिने योजना समेत बताए।