विराटनगर – नेकपा (माओवादी केन्द्र)को तराई–मधेस जागरण अभियानमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुनः जोडिएका छन्। बिहीबार सुनसरीको बर्जु गाउँपालिकामा आयोजित सभामा उनले सहभागीता जनाएका हुन्।
गत सोमबार झापाको बनियानीमा उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा कार्यक्रम सञ्चालकले नजिकै आएपछि श्रेष्ठ झोँक्किएका थिए। उनले त्यहाँबाट हिँडेर चितवन पुगेर अर्को कार्यक्रममा सहभागी भएका थिए।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस घटनाबारे प्रस्टीकरण दिँदै घटनालाई सामान्य बनाउने प्रयास गरेका थिए।
श्रेष्ठ अभियानअन्तर्गत मोरङका विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागी नभए पनि सुनसरीका सभामा उनले अध्यक्ष प्रचण्डसँगै सम्बोधन गरेका छन्। अभियानमा समाजवादी पार्टीका महेन्द्र राय यादव पनि जोडिएका छन्।
शुक्रबारे चोकमा आयोजित सभामा प्रचण्डले यस अभियानलाई जनताका समस्याहरू बुझ्न र पार्टीको नीति, कमजोरी र कार्यदिशा प्रस्तुत गर्नका लागि आयोजना गरिएको बताए।