महासचिव पोखरेल : माओवादीकै सहयोगले कांग्रेस र एमाले ठूला बने भन्नु हाँस्यास्पद

262 Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको सहयोगमा नेपाली कांग्रेस र एमाले ठूला दल बनेको भन्ने दाबी हाँस्यास्पद रहेको बताएका छन्।

बुधबार फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उक्त भनाइको आलोचना गरेका हुन्। उनले लेखेका छन्, ‘नेकपा एमाले र नेपाली कांग्रेसको सहयोगमा सत्ता समीकरणको तथाकथित म्याजिक नम्बर पाउन सफल माओवादी अध्यक्षले अहिले ती दलहरूसँगको सहकार्य नहुँदा, आफ्नै सहयोगमा ती दल ठूला बनेको दाबी गर्नु हाँस्यास्पद छ।’

उनका अनुसार सरकारको नेतृत्वमा रहँदा प्रचण्डले अपनाएको अस्थिर, स्वार्थपरक नीति र द्वैध चरित्रकै कारण माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाएको हो। ‘त्यसको हेक्का भएर नै प्रचण्डमा अहिले तीव्र निराशा र छटपटाहट देखिन थालेको छ,’ उनले लेखेका छन्।

महासचिव पोखरेलका अनुसार देशलाई राजनीतिक अस्थिरताको दुष्चक्रबाट मुक्त गरी विकास र समृद्धिको बाटोमा अघि बढाउन राजनीतिक ध्रुवीकरण आवश्यक छ। त्यसका लागि सबै दलले अबको चुनाव गठबन्धनबिना, आफ्नै नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नुपर्ने उनले बताए।

यस्तो भएमा ‘कथित म्याजिक नम्बर’ को नाममा साना दलहरूले ठूला दलहरूमाथि शासन गर्ने अवस्था अन्त्य हुनेछ,’ पोखरेलले उल्लेख गरेका छन्।

यसअघि, माओवादी अध्यक्ष प्रचण्डले मंगलबार माओवादीले सहकार्यको राजनीति गर्दा घाटा बेहोरेको बताउँदै कहिले कांग्रेस, कहिले एमाले ठूलो भएको बताएका थिए।

सम्बन्धित समाचार

सबै