सरकारसँग वार्ता गर्न ‘नो केबलकार’ समूहको चार शर्त
‘नो केबलकार समूह’ ले सरकारसँगको वार्ताका लागि चार शर्त अघि सारेको छ । फेरि पनि वार्ताका लागि मन्त्रिस्तरीय वार्ता समिति बनाउनु पर्ने प्रस्ताव गरिएको छ ।
१३ वटा संस्था र नौवटा राजनीतिक दलले निकालेको विज्ञप्तिको पहिलो बुँदामा मन्त्रिस्तरीय वार्ता समिति निर्माण गरी आन्दोलनरत पक्षलाई परिणाममुखी वार्ताका लागि आधिकारिक आह्वान पत्राचार गरिनुपर्ने उल्लेख छ । दोस्रो बुँदामा आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरी लगायतका स्थानबाट पक्राउ गरिएकालाई निसर्त रिहाई र कफ्र्यु हट्नु पर्ने प्रस्ताव गरिएको छ ।
तेस्रो बुँदामा केबलकार निर्माणकार्य बन्दगरी निर्माणस्थलबाट सबै निर्माण सामग्री ठेकेदार, कामदार, मजदुर फिर्ता गर्नुपर्ने माग छ । चौंथो बुँदामा मुक्कुम्लुङ क्षेत्रबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता हुनुपर्ने शर्त राखिएको छ । दिगो, स्थायी शान्ति, सार्थक र परिणाममुखी वार्ताका लागि यी सर्त पूरा हुनुपर्ने उल्लेख छ । वार्ता र संवादको माध्यमबाट समस्या समाधान हुनुपर्छ भन्नेमा आफूहरु सकारात्मक र जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ ।