प्रधानमन्त्री ओली : ‘देश उज्यालो युगमा प्रवेश गरेको छ, युवाहरू निराश नहुन’

258 Shares

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरिसकेको भन्दै युवाहरूलाई निराश नहुन आग्रह गर्नुभएको छ।

काठमाण्डौको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास भइरहेको दाबी गर्नुभयो। उहाँले सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको स्पष्ट पार्दै नागरिकहरूलाई पनि राष्ट्र निर्माणको यात्रामा साथ दिनुपर्नेमा जोड दिनुभयो।

‘खान लाउन नसक्नेहरूलाई सरकारले हेर्नुपर्छ, पढ्न नसक्नेहरूलाई सरकारले पढाउनुपर्छ। तर, शुल्क तिर्न सक्नेहरूलाई छात्रवृत्ति दिनुपर्ने आवश्यकता छैन। उच्चशिक्षाका लागि सरकारी तथा निजी शिक्षालयमा पूर्वाधार र कोटा वृद्धि गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने अवस्थालाई सुधार गर्नुपर्ने बताउँदै, शिक्षकहरूले विद्यार्थीलाई बुझाउने तरिकामा सुधार नगरे तलब वृद्धि नहुने स्पष्ट गर्नुभयो।

यसअघि आफ्नो कार्यकालमा ३९६ वटा आधारभूत अस्पतालको एकैपटक शिलान्यास गरेको स्मरण गराउँदै उहाँले ती परियोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको स्वीकार गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको पनि विमोचन गर्नुभएको थियो।

सम्बन्धित समाचार

सबै