काठमाडौं महानगरलगायतमा एक हप्ताभित्र प्रमुख प्रशासकीय अधिकृत नियुक्त हुने

261 Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानहरूमा एक हप्ताभित्रै नयाँ अधिकृत नियुक्त गरिने बताएका छन्।

सञ्चारकर्मीहरूसँग आज (सोमबार) संसद भवन परिसरमा कुरा गर्दै मन्त्री गुप्ताले लोकसेवा आयोगबाट बढुवा भएका सहसचिवहरू हाल तालिममा रहेकाले उनीहरूको तालिम समाप्त भएपछि प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिने जानकारी दिए।

‘सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आएका छन्। उनीहरूको तीन दिनको तालिम बाँकी छ। त्यसैले ५–६ दिनभित्र काठमाडौं महानगरपालिका सहित प्रमुख प्रशासकीय अधिकृत विहीन महानगर तथा उपमहानगरहरूमा नयाँ अधिकृत पठाइनेछ,’ उनले भने।

मन्त्री गुप्ताले काठमाडौं महानगरपालिकालाई संघीय मामिला मन्त्रालयको कार्यालयको रूपमा व्याख्या गर्दै त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने जिम्मेवारी आफ्नो भएको बताए। उनले भने, ‘काठमाडौं महानगरपालिका मेरो कार्यालय हो। त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने काम मेरो हो। मेयर साहेबको भूमिका त्यसभन्दा फरक छ।’

उनले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेको उल्लेख गर्दै केही दिनभित्रै नियुक्ति हुने प्रतिबद्धता जनाए।

सम्बन्धित समाचार

सबै