काठमाडौँ — गंगालक्ष्मी अवाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसबाट समानुपातिक सूचीमा परेकी थिइन् । सबैले त्यसबेलै उनलाई बधाई समेत दिएका थिए । सांसद भएर अब गंगालक्ष्मीले आफ्नो क्षेत्रलाई चिनाउने भइन भनेर भक्तपुरबासी निकै खुसी भएका थिए ।
गंगालक्ष्मीले पनि निर्वाचित हुने पक्कापक्की नै बुझेकी थिइन् । उनले भनिन्, ‘कोट समेत सिलाएकी थिएँ । तर, अन्तिममा सांसदमा परिएन । मन बुझाएर कोट दराजमा थन्काए ।’
सांसद नभए पनि उनले हार भने खाइनन् । ३ दशकभन्दा लामो राजनीतिक गरेकी गंगाले आफ्नो क्षेत्रमा मिहिनेत गर्न कम गरिनन् । उनको यो मिहिनेतलाई यसपटक भने पार्टीले खेर जान दिएन । कांग्रेसले उनलाई यसपटक समानुपातिक सूचीबाट सांसद बनाएको छ ।
उनले भनिन्, ‘भक्तपुरमा म जन्मेदेखि अहिलेसम्म कांग्रेसले जितेको छैन । तर पनि भक्तपुरबाट कांग्रेसको प्रतिनिधत्व गर्दै सदन छिर्न पाउदा खुसी लागेको छ ।’
यसकारण राजनीतिमा प्रवेश
गंगालक्ष्मीले राजनीतिमा आउनुको मुख्य कारण समाज सेवा नै भएको सुनाइन् । ‘काखमा भएको बच्चालाई घरमा छोडेर राजनीति गरेको पुराना दिन अझै यादमा छन् । राजनीतिमा आउने उद्देश्य भनेकै समाज सेवा हो,’ उनले भनिन्, ‘महिला, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिहरू, किसानको साथै समस्त नेपालको सेवा र उनीहरूको आवाज बन्न लागि राजनीतिमा आएकी हुँ ।’