काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले छ महिनाभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
गत कात्तिकमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण भएपछि उनले महाधिवेशनको प्रस्ताव औपचारिक रुपमा अघि सारेका हुन् ।
बिहीबार केन्द्रीय कार्यसंयोजन समितिमा उनले लिखित रुपमा महाधिवेशनको प्रस्ताव गरेका हुन् । ‘अबको छ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने’ उनले अघि सारेको प्रस्तावमा भनिएको छ ।
उनले नेकपाले तत्कालै सांगठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । ‘पार्टीको पुनर्गठन र रूपान्तरण अभियान व्यापक रूपमा सञ्चालन गर्नुपर्ने भएको छ,’ उनले संगठन समायोजन र निर्माणलाई पूर्णता दिने प्रस्तावमा भनेका छन्, ‘पार्टी संगठन र पार्टीसम्बद्ध जनवर्गीय संगठनहरूलाई नयाँ ढंगले पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ। त्यसका लागि एक महिनाभित्र पालिका तहसम्म भएका सबै संगठन समायोजन गर्ने र नभएका स्थानमा नयाँ संगठन निर्माण गर्ने, तीन महिनाभित्र सबै वडामा संगठन निर्माण गरिसक्ने ।’
उनले तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने र पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने जनाएका छन् । ‘पार्टी संगठनको मात्र होइन, नेतृत्वको पनि पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ । त्यसका निम्ति पनि ठोस कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ,’ प्रस्तावमा उल्लेख छ ।