विदेशी हस्तक्षेप बढेको बुझेपछि युवाको रोजाइमा केपी शर्मा ओलि

342 Shares

नेपालको समकालीन राजनीतिमा विदेशी हस्तक्षेपको बहस फेरि सतहमा आएको छ। नीति निर्माणदेखि सरकार गठनसम्म बाह्य शक्तिको चासो बढेको अनुभूति आम जनतामा फैलिँदै जाँदा स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय निर्णयक्षमताको प्रश्न केन्द्रीय विषय बनेको छ। यस्तो सन्दर्भमा धेरै युवाहरू तथा विभिन्न दलमा आबद्ध कार्यकर्तासमेत राष्ट्रवादी अडान प्रस्ट देखिने नेतृत्वतर्फ आकर्षित भइरहेका छन्। पछिल्ला सार्वजनिक बहस, सभा–सम्मेलन र सामाजिक सञ्जालको प्रवाह हेर्दा राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने नेतृत्वको खोजी तीव्र बन्दै गएको देखिन्छ।
यही पृष्ठभूमिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र यसको नेतृत्वप्रति बढ्दो समर्थनलाई विश्लेषण गर्न आवश्यक छ। एमालेले लामो समयदेखि राष्ट्रियता, स्वाधीनता र विकासलाई आफ्नो केन्द्रीय नारा बनाउँदै आएको छ। राजनीतिक अस्थिरता र अवसरवादको आरोप–प्रत्यारोपबीच स्थिर सरकार, नीतिगत निरन्तरता र विकासकेन्द्रित दृष्टिकोणको आवश्यकता आम जनताले अनुभूत गरिरहेका छन्। त्यसैले “देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ” दिनुपर्ने जनभावना अभिव्यक्त हुन थालेको छ। विशेषगरी युवापुस्तामा भावनात्मक नाराभन्दा संस्थागत स्थिरता र दीर्घकालीन नीति प्राथमिकता पाउन थालेको संकेतहरू देखिन्छन्।
अन्तर्राष्ट्रिय सन्दर्भले पनि यस बहसलाई थप बल दिएको छ। छिमेकी देश Bangladesh मा हालै भएको राजनीतिक परिवर्तनमा जनताले लोकप्रियतामात्र होइन, राष्ट्रहित र स्थायित्वको आधारमा नेतृत्व चयन गरेको उदाहरण बुझ्नु पर्छ त्यहाँको निर्वाचन परिणामका अनुसार सामाजिक सञ्जालको ‘भाइरल छवि’भन्दा संस्थागत क्षमता र राष्ट्रिय दृष्टिकोण अन्ततः निर्णायक बन्न सक्छ। नेपालमा पनि क्षणिक आवेग, प्रचारमुखी शैली वा व्यक्तिवादी राजनीतिक संस्कारभन्दा दीर्घकालीन राष्ट्रिय परियोजनालाई अघि बढाउन सक्ने दल र नेतृत्वको रोजाई स्वाभाविक बनेको छ।
राजनीतिमा भावनात्मक उछाल सधैं स्थायी हुँदैन। इतिहासले देखाएको छ ,जनताको अपेक्षा पूरा गर्न नसक्ने शक्ति छिट्टै खुम्चिन्छ। त्यसैले आजको बहस केवल व्यक्ति वा दलको समर्थन–विरोधमा सीमित हुनु हुँदैन, यो बहस राष्ट्रको दिशाबारे हुनुपर्छ। स्वाधीन परराष्ट्र नीति, आन्तरिक एकता, आर्थिक आत्मनिर्भरता र सुशासनको स्पष्ट खाका प्रस्तुत गर्न सक्ने नेतृत्व नै दीर्घकालमा स्थापित हुन्छ। यही सन्दर्भमा एमाले केन्द्रित बहस र युवाहरूको सक्रियता चुनाव नजिकिँदै जाँदा थप सघन हुँदै गएको छ।
अन्ततः लोकतन्त्रमा अन्तिम निर्णायक जनता नै हुन्। जनमतलाई आवेग, भ्रम वा बाह्य प्रभावले होइन, विवेक, तथ्य र राष्ट्रिय हितले निर्देशित गर्नुपर्छ भन्ने सन्देश आजको राजनीतिक संवादले दिनुपर्छ। यदि देशलाई स्थिरता, विकास र स्वाभिमानको मार्गमा लैजानु छ भने क्षणिक लोकप्रियताको हावाभन्दा नीतिगत दृढता र संस्थागत अनुभवलाई प्राथमिकता दिनुपर्ने बहस सशक्त बन्दै गएको देखिन्छ। चुनाव नजिकिँदै जाँदा यही विमर्शले निर्णायक रूप लिनेछ, र राष्ट्रहितलाई केन्द्रमा राख्ने शक्तिप्रति जनसमर्थन कता मोडिन्छ भन्ने प्रश्नको उत्तर पनि त्यहीँबाट निस्कनेछ ।

सम्बन्धित समाचार

सबै