एमालेमय बन्दै ललितपुर

508 Shares

ललितपुर आज केवल ऐतिहासिक, सांस्कृतिक र शैक्षिक पहिचानमा सीमित छैन । पछिल्ला राजनीतिक घटनाक्रमले ललितपुरलाई चेतनशील नागरिक निर्णयको केन्द्रका रूपमा उभ्याइरहेको छ । विशेषतः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा देखिएको राजनीतिक लहरले स्पष्ट संकेत दिएको छ ललितपुर एमालेमय बन्दैछ ।

निर्वाचन क्षेत्र नम्बर १ मा चेतनाथ सञ्जेल, क्षेत्र नम्बर २ मा प्रेम महर्जन र क्षेत्र नम्बर ३ मा युवा नेता सन्दन थापा मगरजस्ता सक्षम, जनसरोकारसँग जोडिएका उम्मेदवारहरूको उपस्थितिले नेकपा (एमाले)लाई ललितपुरमा अग्रस्थानमा पुर्‍याएको छ । यो केवल उम्मेदवारको लोकप्रियता मात्र होइन, एमालेले अँगालेको नीति, दृष्टिकोण र राष्ट्रप्रतिको स्पष्ट अडानप्रति जनताको भरोसाको परिणाम हो ।

पछिल्ला समयमा राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरता, संविधानको मर्मविपरीत बनेको सरकार, नागरिक सार्वभौमसत्तालाई कमजोर बनाउने प्रवृत्ति र बाह्य दबाबप्रति देखिएको लाचारीले आम नागरिकमा गहिरो असन्तोष जन्माएको छ । ललितपुरका सचेत नागरिकहरूले अब यो असन्तोषलाई मौनतामा सीमित राख्न चाहेका छैनन् । उनीहरू स्पष्ट रूपमा राष्ट्रियता, स्वाधीनता र नागरिक सर्वोच्चताको पक्षमा उभिने राजनीतिक शक्तिको खोजीमा छन र त्यो भरोसा उनीहरूले नेकपा (एमाले)मा देखेका छन् ।

एमालेले अँगालेको राष्ट्रकेन्द्रित नीति, बाह्य हस्तक्षेपविरुद्धको स्पष्ट अडान र संविधानको रक्षा गर्ने दृढता नै आज ललितपुरका नागरिकलाई आकर्षित गरिरहेको प्रमुख कारण हो । गैर–संवैधानिक अभ्यास, स्वार्थी राजनीतिविरुद्ध जनताले अब ताजा जनादेशमार्फत स्पष्ट सन्देश दिन चाहेका छन् । यही चेतनाले आज ललितपुरको गल्ली–गल्ली, चोक–चोक र गाउँ–बस्तीमा एमालेको पक्षमा जनमत सशक्त बन्दै गएको छ ।

विशेषगरी निर्वाचन क्षेत्र नम्बर ३ मा युवा नेता सन्दन थापा मगरप्रति देखिएको जनसमर्थनले नयाँ पुस्ता अब भावनात्मक नाराभन्दा नीति, दृष्टि र परिणाममुखी नेतृत्व खोजिरहेको प्रमाणित गर्छ । यस्तै, क्षेत्र नम्बर १ र २ मा अनुभवी र जनविश्वास प्राप्त नेताहरूको अग्रसरताले एमालेको सांगठनिक शक्ति थप बलियो बनेको छ ।

यसर्थ, ललितपुरमा देखिएको यो राजनीतिक लहर कुनै आकस्मिक घटना होइन । यो लामो समयदेखि दबिँदै आएको नागरिक चेतनाको अभिव्यक्ति हो । राष्ट्रियता, स्वाधीनता र नागरिक सर्वोच्चताको पक्षमा उभिएर गैर–संवैधानिक सरकारविरुद्ध ताजा जनादेश स्थापना गर्ने ललितपुरवासीको निर्णय अब अन्तिम चरणमा पुगेको छ । यही कारण, आज ललितपुरका तीनै निर्वाचन क्षेत्रहरूमा नेकपा (एमाले) अग्रस्थानमा देखिएको हो ।

सम्बन्धित समाचार

सबै