नवलपरासी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय जनताबीच माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको बताएका छन्।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा आयोजित ‘जनतासँग माओवादी : हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’लाई सोमबार साँझ सम्बोधन गर्दै उनले झापादेखि नवलपुरसम्मको यात्रामा जनताको साथ र भरोसा अनुभव भएको बताए।
देश अहिले राजनीतिक असहजतामा रहेको उल्लेख गर्दै प्रचण्डले यस अवस्थालाई सहज बनाउने उद्देश्यले माओवादी केन्द्रले खबरदारी अभियान थालेको स्पष्ट पारे। झापाबाट सुरु भएको उक्त अभियान कञ्चनपुरसम्म पुग्नेछ भने हालसम्म लाखौं जनताको सहभागिता भइसकेको उनले बताए।
“सहिद, बेपत्ता, युद्धपछिका पीडित, गरिब, मजदुर, किसानसँग प्रत्यक्ष संवाद हुँदा उनीहरूको पीडा र चाहना बुझ्ने अवसर मिलेको छ,” उनले भने, “आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम र थारु समुदायका अपेक्षालाई पनि नजिकबाट बुझ्न सकेको छु।”
प्रचण्डले जनताकै घरमा पुगेर संवाद गर्नेक्रममा माओवादी केन्द्र राष्ट्रप्रति गम्भीर, जनताप्रति इमानदार र परिवर्तन, सुशासन तथा समृद्धिप्रति प्रतिबद्ध पार्टी भएको सन्देश जनतामा स्पष्ट हुँदै गएको दाबी गरे।