कांग्रेसमा भाइरल बन्ने होडले पार्टीलाई क्षति : मन्त्री आरजु राणा

71 Shares

काठमाडौं – परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नेपाली कांग्रेसभित्र मिडियामा भाइरल बन्ने नाममा गैरजिम्मेवार अभिव्यक्ति दिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।

इलामको श्रीअन्तुमा कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्ता प्रवृत्तिले पार्टीलाई गम्भीर क्षति पुर्‍याएको बताइन्। “कसैले मिडियामा कभरेज पाउने उद्देश्यले पार्टी र नेताविरुद्ध बोलेको देखिन्छ,” उनले भनिन्, “त्यसले तत्काल भाइरल त दिलाउला तर पार्टीको दीर्घकालीन हितमा हुँदैन।”

उनले सरकारमा रहेर पनि पार्टीभित्रकै नेताहरुले अत्यधिक आलोचना गरिरहेको उल्लेख गर्दै यस्तो व्यवहारले कार्यकर्तामा निराशा उत्पन्न गराउने बताइन्। राणाले पार्टीभित्र गुनासा भए छलफलका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै, सार्वजनिक मंचमा असन्तुष्टि पोख्नु उचित नभएको धारणा राखिन्।

उनका अनुसार आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने योजना बनाएकाले अहिलेबाटै एकता र सुदृढीकरणको अभियान थाल्न आवश्यक छ।

उनले पार्टीभित्र महिलाहरूको ऐतिहासिक योगदान स्मरण गर्दै आगामी दिनमा महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। “महिलाको समानुपातिक सहभागिता पार्टीभित्र सुनिश्चित गर्नुपर्छ,” उनले भनिन्।

सम्बन्धित समाचार

सबै