
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल बनाउन सबैलाई आह्वान गरेका छन्। आजदेखि सुरु भएको भर्ना अभियानको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अभिभावक र सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।
उनले सन् २०३० सम्म दिगो विकास लक्ष्य (SDG) हासिल गर्न समावेशी, गुणस्तरीय र प्राविधिक शिक्षा आवश्यक भएको औँल्याउँदै, शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्ने माध्यम बनाउनु पर्ने धारणा राखे।
प्रधानमन्त्री ओलीले अझै पनि नेपालमा करिब २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै, “गरिबी अन्त्यको पहिलो सर्त शिक्षा हो” भने। उनले कुनै पनि बालबालिका विद्यालय बाहिर रहन नपर्नेमा जोड दिए।
भर्नादरमा सुधार भए पनि विद्यार्थी टिकाउ दर अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले स्थानीय ज्ञान, सीप र प्रविधिसँग जोडिएको आधुनिक शिक्षाले मात्र समाधान दिन सक्ने बताए। साथै, उनले शिक्षा क्षेत्रमा लगानी बढाउन, विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गर्न तथा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले शिक्षाले व्यवहारिकता, नैतिकता र सामाजिक उत्तरदायित्व दिनुपर्नेमा जोड दिँदै, “हामी शिक्षित मात्र होइन, विनयशील पनि हुनुपर्छ,” भने।
अन्त्यमा, उनले अभिभावकविहीन बालबालिकालाई सडकबाट विद्यालयसम्म पुर्याउन सरकारले अभियानात्मक कार्य अघि बढाइरहेको र यस भर्ना अभियानले त्यसमा सहयोग पुर्याउने आशा व्यक्त गरे।