कांग्रेस महाधिवेशन टार्ने प्रयास आत्मघाती : डा. शेखर कोइरालाको चेतावनी

23 Shares

काठमाडौं – सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशनलाई कुनै कारण देखाएर टार्न खोज्ने काम आत्मघाती हुने चेतावनी दिएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले कांग्रेस पार्टी ‘सुकिला मुकिला र पैसावालाको कब्जामा जान’ खतरा देखेका छन्।

कोइरालाले भने, “यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो। कुनै कारण देखाएर महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुनेछ। यसतर्फ कांग्रेसका साथीहरूलाई चनाखो र सतर्क रहन अपिल गर्दछु।” उनले देश र जनतामाथि काम गर्ने सोचले मात्रै कांग्रेसको निकास सम्भव हुने उल्लेख गरे।

सामाजिक र राजनीतिक मुद्दामा विवेकपूर्ण निर्णय लिने आवश्यकता रहेको भन्दै कोइरालाले कांग्रेसका साथीहरूलाई पार्टीको पुनर्जागरणकालमा सक्रिय हुन आह्वान गरे। “कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियता बिना पार्टीमा नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव छैन,” उनले भने।

कोइरालाले थपे, “हामी सबै राजनीतिमा देखिएका विकृति र विसंगतिको उपचार पार्टी भित्रबाट गर्नुपर्छ। ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ चलाउनु आवश्यक छ, होइन भने पार्टी सुकिला मुकिला र पैसावालाको कब्जामा जान सक्छ।”

उनले पार्टीमा शुद्धीकरण अभियान चलाउनुको विकल्प नरहेको पनि स्पष्ट गरे, “कुशासन, भ्रष्टाचार र अनियमितता संस्थागत भएकाले नागरिक र पार्टीको सम्बन्धलाई जोड्न शुद्धीकरण अभियान अनिवार्य छ।”

सम्बन्धित समाचार

सबै