पर्यटन समृद्धिको आधार : मन्त्री राणा

48 Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको विकास र समृद्धिको आधार पर्यटन रहेको स्पष्ट पार्दै नेपालका संस्कृति, सम्पदा र प्राकृतिक सौन्दर्य विश्वकै प्रमुख आकर्षण भएको बताएकी छन् । परराष्ट्र मन्त्रालयद्वारा इलामको श्रीअन्तु र कन्याममा आयोजित ‘रिट्रिट’ कार्यक्रममा सहभागी विदेशी कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय संघ–संस्थाका प्रतिनिधिमाझ मन्त्री राणाले उक्त धारणा राखेकी हुन् ।

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रममा मन्त्री राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधता, जैविक सम्पदा, हिमशृङ्खला, चिया फाँट, कुहिरोले ढाकिएका डाँडाहरू र आत्मीय जनताको विशिष्टता उजागर गर्दै इलामको सौन्दर्य अनुभव गर्न आग्रह गरिन् । साथै, उनले सहभागी कूटनीतिज्ञहरूलाई नेपालका ‘पर्यटन राजदूत’ बन्न र नेपाल तथा इलामको राम्रा पक्षलाई आ–आफ्नो देशमा प्रचार गर्न अनुरोध गरिन् ।

कार्यक्रममा मन्त्री राणाले पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा वैदेशिक लगानीका सम्भावनाबारे समेत चर्चा गर्दै नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरिन् । परराष्ट्र सचिव अमृतबहादुर राईले पनि नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्य आफैँले अवलोकन गर्नुपर्ने कुरा जोड दिँदै सहभागीहरूलाई प्रत्यक्ष अनुभूतिका लागि धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशका राजदूत तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरू सहभागी थिए । उनीहरूले कन्यामका हरियाली चियाबारीहरू र अन्तुबाट देखिएको सूर्योदयलाई तस्बिरमार्फत् कैद गरेका थिए ।

नेपाल पर्यटन बोर्ड र सूर्योदय नगरपालिकाको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा इलामको पर्यटन, संस्कृति र स्थानीय जीवनशैलीलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्य रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

सबै