सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा नयाँ वर्ष २०८२ मा समृद्धि, सुशासन र कानुन निर्माणमा जोड

107 Shares

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा सभामुख देवराज घिमिरेले मुलुकमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास व्यक्त गरेका छन् । उनले नयाँ वर्षलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने समयका रूपमा व्याख्या गरेका छन् ।

शुभकामना सन्देशमार्फत सभामुख घिमिरेले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र शान्ति प्रक्रियाका उपलब्धिहरूको रक्षा गर्दै राजनीतिक यात्रालाई उल्ट्याउने होइन, सुदृढ गर्दै लैजानु सबैको ऐतिहासिक जिम्मेवारी भएको बताएका छन् । नेपाल विविध संस्कृति र गौरवशाली इतिहास बोकेको राष्ट्र भएको उल्लेख गर्दै उनले विकास र समृद्धिको दिशामा भौतिक, आर्थिक, सामाजिक र सुशासनका आधारहरू सुदृढ गर्नु जरुरी रहेको औंल्याएका छन् ।

उनले नयाँ वर्षलाई आपसी मेलमिलाप, एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति विश्वास गहिर्याउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

यसैबीच, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ वर्षमा बाँकी रहेका सबै कानुन निर्माण हुने विश्वास व्यक्त गरेका छन् । ८० को दशकलाई समृद्ध र विकसित नेपालको आधार बनाउने लक्ष्यसहित सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उनले बताएका छन् ।

राष्ट्रियसभा अध्यक्ष दाहालले संघीयता कार्यान्वयनका लागि अझै आवश्यक महत्वपूर्ण कानुनहरू निर्माण हुन बाँकी रहेको बताउँदै यसले सेवा प्रवाहमा असहजता र नागरिकमा अन्योलता बढाएको जनाएका छन् । कानून निर्माणमा राजनीतिक दलहरूले दलीय स्वार्थभन्दा माथि उठेर जनचाहना र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने उनको जोड छ ।

उनले गणतन्त्र विरोधी हर्कतहरूलाई निस्तेज पार्दै जनतामाझ गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र मात्रै हुन सक्ने सन्देश फैलाउन सबै राजनीतिक दल र नेतृत्व जिम्मेवार हुनुपर्ने उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

सबै