काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक हुने बेथिति अन्त्य गर्दै सुशासन प्रवर्द्धन र सेवा चुस्त बनाउनु पहिलो शर्त भएको बताएका छन् । विक्रम संवत् २०८२ को प्रारम्भको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रहितका लागि साझा संकल्पसहित अघि बढ्न उनले आग्रह गरे ।
राष्ट्रपतिले नेपाली समाजमा नयाँ वर्षलाई विगतको समीक्षा र आगामी लक्ष्य निर्धारणको दिनका रूपमा आत्मसात् गरिँदै आएको परम्परा उल्लेख गर्दै नयाँ वर्षलाई साझा राष्ट्रिय लक्ष्य निर्धारणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनले कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगलाई आर्थिक मेरुदण्डका रूपमा अघि सार्दै समृद्ध राष्ट्र निर्माणका लागि सबैलाई एकजुट हुन अपिल गरे ।
यसैबीच, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संविधानका कमीकमजोरीलाई संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउनु आवश्यक रहेको बताएका छन् । शुभकामना सन्देशमार्फत् उनले जनताको सार्वभौम अधिकार र स्व–शासनको अभ्यास गर्दै विविधताभित्रको एकतालाई सम्बोधन गर्दै दिगो शान्ति, विकास र समृद्धिको संकल्प गर्नुपर्ने उल्लेख गरेका छन् ।
दुवै राष्ट्रप्रमुखहरूले नयाँ वर्षलाई सामाजिक, सांस्कृतिक र आर्थिक महत्वसहित सकारात्मक ऊर्जा फैलाउने अवसरका रूपमा आत्मसात् गर्न आह्वान गरेका छन् । साथै, सबै नागरिकलाई नैतिकता, ईमानदारी र परिश्रमका साथ मुलुकको समृद्धिमा सक्रिय हुन आग्रह गरिएको छ ।