ओलीको नयाँ वर्ष सन्देश : समृद्ध राष्ट्रका लागि सकारात्मक सोच र साझा प्रयास आवश्यक

156 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य हासिल गर्न सबै नेपालीको सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन्।

स्वदेश तथा विदेशमा रहेका नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति र सफलता ल्याओस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीले कठिन परिस्थितिमा प्राप्त भएका उपलब्धिलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढ्न सकिने विश्वास व्यक्त गरे।

‘नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ सम्भावनाको खोजी गर्दै अघि बढ्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ छ, ‘समृद्ध नेपाल र सुखी नेपाली हाम्रो साझा संकल्प हो, जसको प्राप्तिका लागि सरकार मात्र होइन, देश-विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा प्रयास आवश्यक छ।’

प्रधानमन्त्री ओलीले विविधताले भरिएको नेपाली समाजलाई विरोध होइन, एकताको शक्तिका रूपमा लिनु पर्ने उल्लेख गरे। ग्रामीण भेगमा पुगेको पूर्वाधार र सामाजिक सेवा प्रणालीमा देखिएको सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएको उनले बताए।

उनले युवालाई राष्ट्रका सम्भावना भन्दै उनीहरूको जोश र सिर्जनशीलतालाई उद्यम, शिक्षा, प्रविधि र स्वरोजगारका माध्यमबाट आत्मनिर्भर बनाउने नीति अवलम्बन गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई अँगाल्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा विश्वास राख्न आह्वान गर्दै निराशाको राजनीति परास्त गर्न सबैलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सबै