अदालतको अवहेलना मुद्दामा रास्वपा नेतृ टीका संग्रौलालाई तीन दिनभित्र बयान दिन सर्वोच्चको आदेश

27 Shares

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ टीका संग्रौला (ज्वाला) विरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले तीन दिनभित्र बयानका लागि उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश हरि फुयाल र शारंगा सुवेदीको संयुक्त इजलासले संग्रौलालाई कारण देखाउन आदेश दिँदै सो अवधिमा अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो।

गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशपछि संग्रौलाले सामाजिक सञ्जालमार्फत अदालतप्रति टिप्पणी गरेकी थिइन्, जसलाई अदालतको अवहेलनाका रूपमा लिइएको हो।

उक्त टिप्पणीले अदालतको निर्णय कार्यान्वयनमा अवरोध पुग्ने र न्यायपालिका प्रतिको जनविश्वासमा आँच आउने दाबी गर्दै प्राञ्जल केसीले चैत २७ गते सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी निवेदन दर्ता गरेका थिए।

सम्बन्धित समाचार

सबै