राजनीतिक स्थायित्वमार्फत आर्थिक उन्नयनतर्फ सरकार क्रियाशील : मन्त्री गुरुङ

35 Shares

लमजुङ, राइनास — सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार देशलाई राजनीतिक रुपमा स्थिर बनाएर आर्थिक उन्नयनको दिशामा अघि बढिरहेको बताएका छन्।

राइनास नगरपालिका–२ स्थित भलायखर्क स्वास्थ्य चौकी भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सरकार जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताए। उनले अघिल्ला सरकारहरू अस्थिर हुँदा विकास–निर्माणका काम रोकिएको, ऐन–कानुन समयानुकूल नहुँदा संरचनागत सुधार हुन नसकेको उल्लेख गर्दै अहिलेको सरकार ती वेथिति सुधार गर्ने प्रयासमा रहेको स्पष्ट पारे।

“विगतका त्रुटि सच्च्याउँदै विकृति र विसङ्गतिका फोहर फालेर अघि बढेका छौं,” मन्त्री गुरुङले भने, “त्यही कारणले नयाँ काममा केही ढिलो देखिएको हो।”

शिक्षा क्षेत्रको सन्दर्भमा उनले वर्तमान शिक्षा प्रणाली अव्यावहारिक रहेको र ग्रामीण क्षेत्रमा विद्यार्थी संख्या न्यून रहेकाले सुधार आवश्यक रहेको धारणा राखे। प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि उनले औंल्याए।

अर्थतन्त्र कमजोर हुँदा र औद्योगिक उत्पादन बन्द भएकाले राष्ट्र असफल नहोस् भनेर कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्नुपरेको उल्लेख गर्दै उनले वर्तमान गठबन्धन २०८४ सालसम्म कायम रहने दाबी गरे।

स्वास्थ्य क्षेत्रमा सरकारले विशेष ध्यान दिएको बताउँदै मन्त्री गुरुङले जटिल रोगको उपचार तथा शल्यक्रिया देशभित्रै सम्भव बनाउनेतर्फ पहल भइरहेको बताए। स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

उक्त कार्यक्रम वडाध्यक्ष लक्ष्मण शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख खडक गुरुङ, संविधानसभा सदस्य जमीन्द्रमान घले, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, जिल्लास्थित विभिन्न पालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै