
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आइतबार शुभकामना सन्देशमार्फत पूर्वराजाले उक्त घटनामा भएको मानवीय र भौतिक क्षतिले आफू अत्यन्तै दुःखी भएको बताएका हुन् ।
‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो’, शाहले भिडियो सन्देशमा भने, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन ।’
देशलाई विद्यमान जटिलताबाट मुक्त गरी शान्त, स्थिर र समृद्ध बनाउने जनचेतना विकसित हुँदै गएको उल्लेख गर्दै पूर्वराजाले २०८२ सालमा त्यसको सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे ।
तीनकुने घटनापछि पूर्वराजाको नाम पनि सार्वजनिक बहसमा जोडिएको थियो । प्रधानमन्त्री र विभिन्न दलका नेताहरूले पूर्वराजाको धारणा मागिरहेका थिए भने केही सांसदहरूले उनलाई संसदीय समितिमा बोलाएर जवाफदेही बनाउनुपर्ने बताएका थिए । यद्यपि शाहले घटनाबारे पहिलो पटक धारणा सार्वजनिक गरेका हुन् ।
चैत १५ गते ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंको आह्वानमा भएको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु र केही व्यक्तिहरू घाइते भएका थिए । घटनापछि दुर्गा प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायत पक्राउ परेका छन् । उनीहरू हाल काठमाडौं प्रहरीको हिरासतमा छन् ।