संविधान सबैलाई मिलाउन सक्ने खालको छ : सभापति देउवा

25 Shares

ललितपुर — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबै जात, समुदाय र दललाई समेटेर अघि बढ्न सक्ने खालको भएको बताएका छन्।

नेपाल मुस्लिम संघद्वारा आइतबार आयोजित इद मिलन तथा नयाँ वर्षको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले देश समावेशी र समानुपातिक आधारमा अघि बढिरहेको उल्लेख गरे। “नेपालको संविधान अत्यन्तै राम्रो छ,” देउवाले भने, “कुनै पनि पार्टीको बहुमत आउन कठिन भए पनि सबैलाई मिलाएर अगाडि लैजान सक्ने संविधान हो।”

सभापति देउवाले मुस्लिम समुदायले सामाजिक सद्भाव कायम राख्न खेलेको भूमिकाको प्रशंसा गर्दै कांग्रेस अझ समावेशी बनाउने दिशामा सचेत रहेको बताए।

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले नेपाली कांग्रेसले सबैको आस्था र विचारलाई सम्मान गर्दै लोकतान्त्रिक पद्धतिलाई अघि बढाइरहेको बताए।

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदायले लोकतन्त्र र विकासमा पु-याएको योगदान स्मरणीय रहेको जनाए। अर्का सदस्य अब्दुल सतारले नववर्ष २०८२ को शुभकामना दिँदै सबै जातजाति र समुदायबीचको एकताले नै देशको समृद्धि सुनिश्चित हुने बताए।

कार्यक्रममा ललितपुर कांग्रेस सभापति जितेन्द्रकुमार श्रेष्ठ, मुस्लिम संघ अध्यक्ष अताबुल मन्सुर र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलीले नेपाली समाजको पहिचान सहिष्णुता र धार्मिक सहअस्तित्व भएको धारणा राखे।

सम्बन्धित समाचार

सबै