काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा उच्चस्तरीय आर्थिक सुधार आयोगका सदस्य चन्द्रप्रसाद ढकालले आगामी बजेट आयोगका सुझावअनुसार निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।
अर्थ मन्त्रालयअन्तर्गत राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रियामा बोल्दै ढकालले आयोगका सिफारिसहरू समेटिएमा अर्थतन्त्रका धेरै पक्ष सम्बोधन हुने विश्वास व्यक्त गरे।
उनले बजेट जनता केन्द्रित, उत्पादन र रोजगारी वृद्धि गर्ने खालको हुनुपर्नेमा जोड दिँदै सरकारले राजस्व संकलनलाई मात्र प्राथमिकतामा राख्दा आयात प्रतिस्थापन, उत्पादन विस्तार र रोजगारी सिर्जनाका विषयहरू ओझेलमा परिरहेको बताए।
अध्यक्ष ढकालले विगत दुई वर्षदेखि विप्रेषणमार्फत प्राप्त साना रकमको आन्तरिक कारोबार रोकिएको जनाउँदै, विद्यालय, कलेज, अस्पताललगायत संस्थाहरूले आवश्यक पर्ने रकम प्रयोग गर्न नसक्दा सर्वसाधारणले समस्या भोग्नुपरेको उल्लेख गरे। उनले सो प्रणाली पुनः सुचारु गर्नुपर्ने आवश्यकता औंल्याए।