पूर्व प्रहरी महानिरीक्षक प्रदीपसमशेर जबराको ७८ वर्षको उमेरमा निधन

318 Shares

काठमाडौं । नेपाल प्रहरीका १७ औं महानिरीक्षक (आईजीपी) प्रदीपसमशेर जबराको शनिबार साँझ ७८ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनी विभिन्न रोगका कारण केही समयदेखि उपचाररत थिए।

उनका छोरा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपसमशेर राणाका अनुसार आइतबार बिहान ११ बजे पशुपतिमा अन्त्येष्टि गरिने तयारी गरिएको छ। जबरा २०५७ सालको असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको नेतृत्वमा थिए।

उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो र त्यस क्रममा संगठनका धेरै प्रहरी कर्मचारीहरू नयाँ संगठनमा समायोजित भएका थिए।

सशस्त्र द्वन्द्वको जटिल परिस्थितिमा प्रहरी परिचालन तथा व्यवस्थापनमा उनले निर्णायक भूमिका खेलेका थिए। आफ्नो कार्यकालमा जिम्मेवारीप्रति प्रतिबद्धता दर्शाउँदै, उनले इन्स्पेक्टर दर्जामा भर्खरै भर्ना भएका आफ्नै छोरालाई द्वन्द्वको केन्द्रबिन्दु मानिने रोल्पा जिल्लामा खटाएका थिए।

उनको निधनप्रति प्रहरी संगठन लगायत विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त गरिँदैछ।

सम्बन्धित समाचार

सबै