गगन थापा : कांग्रेसको कार्यक्रममा अब राष्ट्रिय झण्डा पनि बोकेर हिँड्नुपर्छ

312 Shares

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको कार्यक्रमहरूमा अब राष्ट्रिय झण्डा पनि चार तारे झण्डासँगै बोकेर हिँड्नुपर्ने बताएका छन्। शनिबार धनकुटामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले राष्ट्रवादको नारा लिएर देखिएका व्यक्तिहरूको आलोचना गर्दै कांग्रेसले नै राष्ट्रिय झण्डा जोगाएको दाबी गरे।

‘अहिले हुँदाहुँदा सुतिसकेको मान्छे झण्डा बोकेर आएको छ,’ गगनले भने, ‘अब कांग्रेसको कार्यक्रममा जति कांग्रेसको झण्डा छ, त्यति नै राष्ट्रिय झण्डा पनि बोकेर हिँड्नुपर्छ।’

उनले राष्ट्रिय झण्डा कांग्रेसकै योगदानले जीवित रहेको भन्दै कांग्रेस नभएको भए देश नै नरहने स्थिति आउने थियो भने। ‘झण्डा हाम्रो हो, मण्डलेहरूले अहिले बोकेर हिँडेको देखिन्छ, तर कांग्रेस नभएको भए त्यो झण्डा रहने थिएन,’ उनले स्पष्ट पारे।

गगनले पञ्चायती शासनविरुद्ध कांग्रेसले छेडेको सशस्त्र आन्दोलनको सन्दर्भसमेत स्मरण गर्दै भारत–चीन युद्ध सुरु भएपछि देशको हितका लागि कांग्रेस पछि हटेको बताएका छन्। ‘बिपी कोइरालाको दूरदर्शिताका कारण देश जोगियो,’ उनले उल्लेख गरे।

अन्तमा उनले अहिले कांग्रेसमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको भन्दै सावधानी अपनाउन कार्यकर्तालाई आग्रह गरे। ‘बाहिरबाट आएका केही मानिसहरूले हामीमाथि हिजोका मण्डलेहरू जस्तै व्यवहार गरिरहेका छन्,’ गगनले भने, ‘अब सबैले सचेत हुन जरुरी छ।’

सम्बन्धित समाचार

सबै