कांग्रेस बाहेक अरू दलको स्पष्ट अर्थनीति छैन : मन्त्री पौडेल

55 Shares

काठमाडौं, ३० चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूको आफ्नै छुट्टै अर्थनीति नभएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा आर्थिक उदारीकरणको मार्गचर्चा कांग्रेसले थालेको र अहिले अन्य दलहरू पनि त्यही नीति पछ्याइरहेको दाबी गरे।

‘आज अर्थतन्त्रको उदारीकरण कांग्रेसले सुरु गरेको हो,’ मन्त्री पौडेलले भने, ‘कांग्रेसबाहेक अरू कसैले मेरो यो आर्थिक नीति हो भनेर भन्न सक्दैनन्। सबैले कांग्रेसकै बाटो पछ्याइरहेका छन्।’

उनले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै मातृ तथा शिशु मृत्युदरको सुधार, समावेशी प्रतिनिधित्वजस्ता कुराहरू कांग्रेस नेतृत्वमा सम्भव भएको बताए।

संघीय शासन व्यवस्थाको पुनरावलोकनको आवश्यकता औँल्याउँदै मन्त्री पौडेलले संसदको आकार घटाउनुपर्ने धारणा राखे।

उनले प्रतिनिधिसभाको सदस्य संख्या २७५ बाट घटाएर २०१, प्रदेशसभा सदस्य संख्या आधा घटाउने, पालिका घटाएर वडा बढाउने, संघीय मन्त्री परिषद् १५ सदस्यीय र प्रदेश मन्त्री परिषद् ३ सदस्यीय बनाउने प्रस्ताव राखे।

राजनीतिक संरचना छोट्याएपछि मात्र प्रशासनिक संरचनामा समेत मितव्ययिता ल्याउन सकिने उनले बताए।

सम्बन्धित समाचार

सबै