काठमाडौं, ३० चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जन्मका आधारमा कोही व्यक्ति श्रेष्ठ र कोही अयोग्य हुने सोच सामन्ती र मानवताविरुद्धको चिन्तन भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय अपांगता संगठन, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पोखरेलले यस्तो सोच समाजमा कहिल्यै स्थापित हुन नदिने स्पष्ट पारे।
‘जन्मजात श्रेष्ठताको धारणा सामन्ती परम्पराको अवशेष हो,’ उनले भने, ‘व्यक्ति आफ्नो संघर्ष, योगदान र अवसर उपयोग गर्ने क्षमताका आधारमा मात्र श्रेष्ठ हुन सक्छ।’
उनले राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नरहेको दाबी गर्दै सो मागलाई मानवता विरोधी सोचको निरन्तरता भने। ‘एमाले जन्मजात सामन्ती सोचको विरुद्ध खडा भएको पार्टी हो,’ पोखरेलले भने, ‘लोकतन्त्र र गणतन्त्र हाम्रो जीवन पद्धति हो, त्यसमा सुधार आवश्यक भए सुधार गरौं तर पछाडि फर्किने कुरा कल्पनै गर्न सकिन्न।’
राजतन्त्र फर्काउने नाममा भइरहेको गतिविधिले देशलाई अँध्यारो युगतर्फ लैजाने चेतावनी दिँदै उनले समाजलाई त्यसबाट जोगाउन सबै सचेत हुनुपर्ने बताए।
रास्वपा नेतृत्वलाई लक्षित गर्दै पोखरेलले लोकप्रियतावादको आवरणमा अपराध गर्ने प्रयास भइरहेको आरोप पनि लगाए। उनले रवि लामिछाने नेतृत्वको पार्टीमा नीति, उद्देश्य र स्पष्ट मार्गदर्शनको अभाव रहेको टिप्पणी गरे।
‘समाजलाई अराजकतातर्फ धकेल्ने यस्ता प्रयास सफल हुन दिनु हुँदैन,’ पोखरेलले भने, ‘लोकप्रियताको नाममा गरिने अपराधहरू कुनै पनि हालतमा उन्मुक्तिको विषय बन्न सक्दैनन्।’











