काठमाडौं, ३० चैत । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँपनको नाममा भइरहेका प्रचारप्रति सतर्क रहन आग्रह गरेका छन्।
शनिबार झापाको दमकमा आयोजित एमालेको जागरणसभामा बोल्दै प्रधानमन्त्री ओलीले जनता भ्रममा नपर्नु पर्ने बताएका हुन्।
रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ओलीले कथित नयाँ अनुहारहरू कोही सहकारी ठग त कोही साहुमारा भएको आरोप लगाए। उनले भने, ‘यस्ता पात्रको पछि लागेर केही हुनेवाला छैन। उनीहरूको वास्तविक रूप चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रष्ट देखिएको छ।’
ओलीले अहिले देश अस्थिरताबाट स्थायित्वतर्फ अघि बढिरहेको उल्लेख गर्दै अबको प्राथमिकता नीति, योजना र विकास नै हुने बताए।
आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी भइरहेकाले किसान तथा सुकुमबासीहरूको समस्या समाधान गर्नेतर्फ सरकारले विशेष ध्यान दिने प्रतिबद्धता पनि उनले जनाए।
प्रधानमन्त्री ओलीले एमाले नेतृत्वमा सरकार सकारात्मक काममै केन्द्रित रहेको दोहोर्याउँदै जनताले हल्ला भन्दा काम हेरेर समर्थन गर्नुपर्ने धारणा राखे।