काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षक आन्दोलनको समाधानका लागि दुईवटा विकल्प प्रस्तुत गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले तत्काल सम्बोधन गर्न मिल्ने मागहरू मन्त्रिपरिषद्को आजैको बैठकबाट निर्णय गर्न सकिने बताए। संसद्बाट गर्नुपर्ने कार्यका लागि भने अधिवेशन बोलाएर विधेयक पारित गर्ने टाइफ्रेम दिन सकिने उनको सुझाव छ।
“शिक्षकले अघि सारेका १५ वटा माग मन्त्रिपरिषद्ले सम्बोधन गर्न सक्छ,” भन्दै उनले भने, “कतिपय काम सम्बन्धित मन्त्रालयले निर्णय गरेर पनि गर्न सकिन्छ, त्यसैले आजै निर्णय गरोँ।” यसले शिक्षकमा विश्वास र भरोसाको वातावरण सिर्जना हुने उनको भनाइ छ।
संसद्बाट सम्बोधन गर्नुपर्ने मागहरूबारे थापाले सरकारलाई संसद् अधिवेशन बोलाउन आग्रह गरेका छन्। “संसद् सुरु भएको सात–आठ दिनभित्र शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाऔं,” भन्दै उनले वैशाख १२–१५ भित्र विधेयक पास गर्न सकिने सम्भावना व्यक्त गरे।
महामन्त्री थापाले शिक्षकहरूले उठाएका मागहरू पहिल्यैबाट सम्बोधन गर्नुपर्ने विषय रहेको स्मरण गराउँदै हालसम्म पूरा नभएको अवस्थालाई लज्जास्पद भने। कांग्रेस सरकारमा हुँदा यस्तो स्थिति आउनु दुर्भाग्यपूर्ण भएको बताए। वैशाख २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले त्यसअघि समाधान नगरे गम्भीर असर पर्ने चेतावनी पनि उनले दिएका छन्।











