कोशी प्रदेशमा एमालेको जनजागरण सभा, प्रधानमन्त्री ओलीको सम्बोधन आज झापामा

54 Shares

काठमाडौं, चैत ३० – सत्तारुढ नेकपा एमालेले आज (शनिबार) झापामा कोशी प्रदेशस्तरको जागरण सभा गर्दैछ। सभामा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

एमालेका अनुसार सरकार र पार्टीविरुद्ध चौतर्फी आक्रमण भइरहेको सन्दर्भमा पार्टीको दृष्टिकोण जनतामाझ स्पष्ट गर्न सभा आयोजना गरिएको हो। राजतन्त्रवादीहरूले फैलाएका भ्रम चिर्न र जनतालाई सचेत गराउन पनि सभा आयोजना गरिएको आयोजकहरूले जनाएका छन्।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर लगायत सबै जिल्लाबाट जनसहभागिता हुने एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज शेरधन राईले जानकारी दिए। सभाको पूर्वसन्ध्यामा शुक्रबार मोटरसाइकल र्‍याली पनि निकालिएको थियो।

आज बिहानैदेखि तयारी तीव्र पारिएको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार, लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध अराजक गतिविधि भइरहेकाले जनजागरण सभा गर्नुपरेको हो।

कार्यक्रम बिहान १० बजे सांस्कृतिक प्रस्तुतिबाट सुरु हुने छ। त्यसपछि पश्चिमतर्फ गोरखा डिपार्टमेन्ट स्टोर र पूर्वतर्फ पुलपारि दमकको पशुबजारबाट र्‍यालीसहित सहभागीहरू कार्यक्रमस्थल पुग्नेछन्।

प्रधानमन्त्री ओली दिउँसो १२ः३० बजे कार्यक्रममा सहभागी हुने र औपचारिक उद्घाटन गर्ने तालिका छ। त्यसपछि प्रदेश इञ्चार्ज राईले प्रदेशको अवस्थाबारे धारणा राख्ने र ओलीले अन्तिम सम्बोधन गर्ने कार्यक्रम रहेको खतिवडाले जानकारी दिए।

सभामा एक लाखभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रम करिब दुई घण्टासम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

सबै