काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल–भारत सम्बन्ध विशिष्ट प्रकृतिको भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल भारत मैत्री संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दुई देशबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक, राजनीतिक र जनस्तरमै गहिरो रहेको उल्लेख गरे ।
“नेपाल र भारतमा बहुसंख्यक जनता हिन्दु धर्मावलम्बी छन् । बुद्ध नेपालमा जन्मनुभयो र भारतमा ज्ञान प्रवचन दिनुभयो,” सिंहले भने, “धार्मिक र सांस्कृतिक रुपमा मात्र होइन, राजनीतिक रुपमा पनि नेपाल–भारत सम्बन्ध विशेष छ ।”
उपप्रधानमन्त्री सिंहले भारतको स्वतन्त्रता संग्रामका क्रममा भारतीय नेताहरू नेपालमा शरण लिन आएको र नेपालका नेताहरूले पनि प्रजातान्त्रिक आन्दोलनका क्रममा भारतमा समय बिताएको स्मरण गरे ।
नेपाल–भारत सम्बन्ध सुमधुर बनाउन नेपाल भारत मैत्री संघले लामो समयदेखि जनस्तरमै योगदान दिँदै आएको भन्दै उनले प्रशंसा व्यक्त गरे ।
सिंहले विवाह सम्बन्ध, धार्मिक स्थलहरूको साझा आस्था, र दुवै देशमा हिन्दु–बौद्ध धर्मको समान महत्व रहेकोले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको बताए ।











