काठमाडौं — सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ सुरु भएको छ। सम्मेलन चैत २९ गतेदेखि ३१ गतेसम्म चल्नेछ।
यस सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय सहआयोजक रहेका छन्।
संस्थाका अध्यक्ष डा. हरेराम श्रेष्ठका अनुसार, सम्मेलनको मुख्य उद्देश्य यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दीगो र सुरक्षित यातायात नीति निर्माणमा टेवा पुर्याउनु हो।
सम्मेलनमा यातायातका विज्ञ, नीति निर्माता, प्रविधि विशेषज्ञ, नवप्रवर्तनकर्ता र सरोकारवालाबीच सहकार्य गरी भविष्यका रणनीतिबारे गहन छलफल हुनेछ।
सम्मेलनको प्रमुख ध्येयहरूमा सार्वजनिक यातायात सुधार, स्मार्ट यातायात प्रणाली प्रवर्द्धन, कृत्रिम बुद्धिमत्ता र बौद्धिक प्रणालीमार्फत सेवा विस्तार, र उत्थानशील पूर्वाधारको विकास रहेका छन्।
आयोजकले सम्मेलनले यातायात प्रणालीलाई सुरक्षित, दिगो, प्रभावकारी र विपद् सामना गर्न सक्ने बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नीति निर्माण र कार्यान्वयन सुधारका उपाय खोजिने र नेपालको यातायात प्रणालीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने अपेक्षा लिइएको छ।